सुनसरी/ संघीय सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै सुनसरीको स्थानीय तहका कर्मचारीले आईतबार पनि आन्दोलन जारी राखेका छन् ।

एकसाता अघिदेखि संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी स्थानीय तहका कर्मचारीहरू आन्दोलन जारी राखेका हुन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा सुनसरीका स्थानीय तहका कर्मचारीहरु पनि निरन्तर आन्दोलनमा छन् ।

संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो रहेको छ । संघर्ष समितिका अनुसार स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखेका छन् ।

यसै बिच भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारीहरू असोज १९ गतेदेखी पेन डाउन गरि आन्दोलनमा रहेको उनीहरुले आईतबार ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरूले एकीकृत निजामती सेवा ऐन जारी गर्, अन्तरप्रदेश सरुवा लागू गर्, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर, लगायतका प्लेकार्ड बोकेर गाउँपालिका अगाडि विरोध गरेका थिए ।

स्थानीय तह कर्मचारी सर्घष समिति भोक्राहा नरसिंहले गाउँपालिकाका अध्यक्ष अजमल अख्खर आजाद, उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासकिय अधिकृत समेतलाई ज्ञापन पत्र बुझाएका हुन् ।