सुनसरी/ नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सुरू गरेको ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ विहिबारबाट सुरू भएको छ  । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा विहिबार बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्रा शुभारम्भ गरिएका हुन् ।

उद्घाटन गर्दैं अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनले बताए । 

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको संकल्प यात्रा मध्यपहाडी लोक मार्गमा तीन सातासम्म चल्ने छ ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब १ हजार ८ सय ७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।

अभियान टुंगाएर फर्किपछि पुस ५ गते काठमाडौंमा औपचारिकरूपमा यात्रा समापन भएका सूचना सम्प्रेषण गर्ने एमालेले जनाएको छ ।

यात्राले मुलुकको समृद्धि, सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।

यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्शाउने कार्यक्रम रहेको छ ।