धरान/  पार्टीको निति विपरितका कार्य गरेका भन्दै कारबाहीको सिफारिसमा परेका नेकपा एमाले धरानका नेता तथा कार्यकर्ताको कारवाही फुकुवा गरेको छ । 

एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा आइतबार बसेको १० औं पुर्ण बैठकले १५ जना नेता तथा कार्यकर्ताको कारवाही फुकुवा गरेको हो ।

सिफारिस गरिएका मध्ये २ जना प्रदेश कमिटी सदस्य भएकाले पार्टीको प्रदेश कमिटीले नै निर्णय गर्ने जनाएको छ । 

प्रदेश कमिटीमा रहेका किशोर कुमार कार्की र मनोज कुमार मेन्याङ्बो प्रदेश कमिटी सदस्य हुन् ।

उनीहरुको हकमा प्रदेश कमिटीले नै निर्णय गर्ने धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले बताए ।

उनका अनुसार आइतबार बसेको जिल्ला कमिटी बैठकले दिलकुमार गिरी, घनश्याम तिम्सीना, हरिहर प्यारा श्रेष्ठ, शिव भण्डारी, राजकुमार राई, हरिबहादुर तामाङ, विश्वराम कार्कि, खगेन्द्र मेन्याङबो, नारायण प्रसाद भट्टराई, श्रीहाङ लिम्बु, रामताराखुक राई, विनोद परियार, सिर्जना खवास, रत्न कट्वाल, प्रेमकुमार राई रहेका छन् ।

उनीहरुको कारवाही फुकुवा गर्न धरान उपमहानगर कमिटीले जेठ १० गते पत्र पठाएको थियो । प्रदेश कमिटी सदस्य समेत रहेका मेन्याङ्बो संघीय निर्वाचनमा बागी उम्मेदवार बनेका थिए भने कार्कीले केही दिन अघि पार्टी छाडेर राप्रपामा प्रवेश गरिसकेका छन् । 

बैठकले “समृद्धिका लागि संकल्प यात्रा २०८०“ कोशी प्रदेश प्रवेश गरीसके पछी मङ्सिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा सहभागीता जनाउने सन्दर्भमा योजना पारीत गरेको छ ।

त्यसै गरि परस्त्री सँग धरानको एक होटलबाट पक्राउ परेका जिल्ला कमिटी सदस्य तथा रामधुनी नगरपालिका वडा नम्बर ७ का (जनप्रतिनिधि) अध्यक्ष केशब गौतम लाई अर्को निर्णय नहुन्जेल सम्मका लागि निलम्बन गरेको छ ।

बैठकमा प्रदेशका संस्थापक मुख्यमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यता र पार्टी केन्द्रीय कमिटी सदस्य जगदीश कुसियैत, भगवती चौधरी, इन्दु गौतम, लक्ष्मी गौतम, मन्जु भण्डारी सुवेदी, केन्द्रीय आयोग सदस्य पोस्ट नेपाल लगायतको उपस्थिती रहेको थियो ।