धरान/ सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडी क्षेत्रका कृषक उत्साहित भएका छन् । गत बर्षको तुलनामा बढेपनि बजारमा मूल्य गत बर्षकै जस्तो छ ।

यतिबेला धनकुटाको खोकु, बुधुक, भोजपुर लगायतका स्थानबाट किसानले धरानस्थित कृषि उपज बजारमा सुन्तला ल्याउने गरेका छन् ।

कार्तिक १५ यतामात्र २ हजार मेट्रिकटन सुन्तला विक्री भइसकेको छ । अझ पुसमाघमा धेरै सुन्तला आउने अनुमान गरिएको छ । किसानले यस पटक बारीमा सुन्तला फलेकाले पुष माघमा ठूलो परिमाणमा सुन्तला बजार आउने बताएका छन् ।

घाम लागेको समयमा सुन्तलाको मूल्य वृद्धि हुने र नलागेको दिन घट्ने व्यापारीको भनाई छ ।

कृषि स्थल बजारको तथ्यांक अनुसार गत बर्ष पूर्वी पहाडका विभिन्न जिल्लाबाट धरानमा ७ हजार मेट्रिकटन सुन्तला खरिदविक्री हुदा ७० करोड हाराहारीको कारोबार भएको थियो ।

यस पटक पहाडी क्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले ८ हजार मेट्रिकटन कृषि बजारमा आइपुग्ने र त्यसबाट करिब कारोबार हुने अनुमान गरिएको कृषि बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् ।

पूर्वी पहाडको धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर तथा खोटाङका धरानको कृषि उपज बजारमा आउने गरेको व्यवस्थापक भट्टराई बताउछन् ।

पूर्वी पहाडी क्षेत्रमा उत्पादन भएको सुन्तला तराईका विभिन्न स्थान, इटहरी, इनरुवा, विराटनगर, विर्तामोड, दमक लगायतका स्थानमा पुग्ने गरेको छ भने भारतसम्म समेत निर्यात हुने व्यवस्थापक भट्टराई बताउँछन् ।