धरान/  प्रचारप्रसार तथा प्रवद्र्धन गर्न नसक्दा स्थानीय स्तरमा रहेका पर्यटकीय स्थलहरु ओझेलमा पर्ने गरेका छन् । छथर जोरपाटी गाउँपालिका ६ सिंधुवा धनकुटामा विद्यालय स्तरबाट पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिइएको छ ।

हाइकिङका माध्यमबाट ओझेलमा पर्दै आएका पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

स्थानीय सरकार तथा स्थानीयबासीहरुको नजरमा गुमनाम रहेको तर प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थल प्रवद्र्धन तथा प्रचार नहुदा ओझेलमा पर्दै आएका छ्न् ।

यस्तै ओझेलमा पर्दै आएका पर्यटकीय स्थलहरुलाई प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ छथरजोरपाटी गाउँपालिका ६ सिंधुवा धनकुटामा रहेको सगरमाथा इङ्लिस बोर्डिङ स्कुलले हाइकिङलाई जोड दिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ९ र १०का विद्यार्थी साथै राष्ट्रिय खेलाडीहरु निक्की नेम्बाङ  र लक्ष्मीनारायण श्रेष्ठ, शिक्षकहरुको टोलीसहित धनकुटा, तेह्थुम जिल्लामा रहेको स्थानीय पर्यटक स्थलहरुमा हाइकिङमा जाने गरेका छन् ।

विद्यार्थीहरुलाई लिएर स्थानीय क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हाइकिङ गरिएको स्कुलका प्रधानाध्यापक विवेश खड्का बताउँछन् ।

उनले भने, ‘विद्यार्थीहरुलाई हाइकिङमा लिएर सिंधुवा, मार्गपोखरी, चित्रे, कालीपोखरी, सभा पोखरी नुनथला हुदै यहाँका विभिन्न रमणीय क्षेत्रहरुलाई पवद्र्धन गर्ने एउटा मुख्य उद्देश्य हाम्रो हो,

यो हाइकिङबाट हामीले पर्यटन प्रवद्र्धनमात्र नभएर हाम्रो वरिपरि रहेका ओझेलमा रहेका कतिपय ठाउँहरुलाई प्रवद्र्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

धनकुटाको सिँधुवाबाट शुरु भएको हाइकिङ तेह्रथुमको मार्गपोखरी, सभापोखरीका साथै धनकुटाको कालीपोखरी, चित्रे, हलहले, पटके,

नुनथला लगायतका स्थानहरुमा गरिएको थियो । आफ्नै स्थान वरिपरि रहेका पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गर्दै नेपालका चर्चित पर्यटकीय गन्तव्यहरुको विकल्प यहाँ रहेका पर्यटकीय स्थलहरुलाई लिन सकिने कक्षा १० मा अध्ययनरत विद्यार्थी दिक्षा विष्ट बताउँछिन् ।

उनी भन्छिन्, ‘हामीलाई हाम्रै वरिपरि रहेका पर्यटकीय स्थलहरुको भ्रमण गर्न पाउँदा अत्यन्तै खुशी लागेको छ । पर्यटकहरुको मुख्य पुग्ने ठाउँ पोखरा, इलाम हुन्छ, तर हाम्रो वरिपरि पनि त्यो ठाउँहरु भन्दा कम छैन ।’

स्थानीय स्तरमा रहेका पर्यटकीय स्थलहरुलाई हाइकिङद्वारा प्रचार तथा प्रवद्र्धन गर्नु प्रयास भएको छ । हाइकिङ अध्ययन, अवलोकनका साथै स्वास्थ्यका लागि समेत राम्रो हुने भएकोले हाइकिङ गर्नुपर्ने राष्ट्रिय खेलाडी निक्की नेम्बाङ बताउँछिन् । उनले भनिन्, ‘हाइकिङ हामीले गर्नुपर्छ किनभने हाइकिङ स्वास्थ्यसँग पनि जोडिएको छ भने अवलोकनका मार्फत अध्ययन पनि गर्न सकिन्छ ।’