धरान/ धरान उपमहानगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य धरान उपमहानगरपालिकाले लिएको छ ।

यसै अनुरुप धरान १४ विजयपुरमा रहेका मठमन्दिरमा स्थानीय सरकार केन्द्रित छ तर धरान ५ मै रहेको पुरानो ऐतिहासिक मन्दिर निशानदेवीको विषयमा स्थानीय सरकार बेखबर झै रहेको छ । 

साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने ऐतिहासिक निशानदेवी मन्दिरको अहिले भगनावेश अवस्थामा रहेको छ ।

पौराणिक इतिहास बोकेको मन्दिर भए पनि यसको संरक्षणमा नगरपालिकाको चासो नदिएको मन्दिर संरक्षण समितिले जनाएको छ ।

३० बर्ष अगाडि यो मन्दिर जस्तो थियो अहिले पनि त्यस्तै अवस्थामा रहेको पुजारी विद्युर भण्डारी बताछन् । मन्दिरको स्थापनाको विषयम सबैको एक मत नभए पनि पौराणिक कालमा विजयपुरको निशानाको रुपमा यो मन्दिर स्थापना भएको पूजारी भण्डारी बताछन् ।

उनले भने–‘यो मन्दिरको भौतिक संरचना जीर्ण अवस्थामा छ, पुरानो मन्दिर भए पनि स्थानीय सरकारले यसको संरक्षणमा कुनै चासो देखाएको छैन ।’

धरानलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अगाडि सारेको धरान उपमहानगरपालिकाको आखासम्म यो मन्दिरसम्म पुग्न नसकेको उनको भनाई छ । 

सकारको आँखा नपुगेपनि स्थानीयले यो मन्दिर संरक्षण गर्दै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकी बताछन् ।

उनले ऐतिहासिक मन्दिर भएपनि संरक्षणको अभावमा जीर्ण बन्दै गएको बताए । उनले भने–‘या मन्दिर धरानकै पुरानो मन्दिर हो, तर यो मन्दिर संरक्षणमा न त वडा समितिको आँखा पुगेको छ, न त धरान उपमहानगरपालिकाकै आँखा पुगेके छ ।’

धरान उपमहानगरपालिकाले धरानको विजयपुरमा रहेको पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या, पाथीभरा र विष्णुपादुकालाई धार्मिक क्षेत्रको विकास गरेर लाने योजना राखे पनि पुरानो तर ऐतिहासिक महत्व बोकेको निशानदेवी मन्दिरको संरक्षणमा खासै चासो देखाएको छैन ।

यो मन्दिरका छाना चुहिने अवस्थामा पुगेका छन् भने मन्दिरका भित्ता भत्केर जीर्ण बनेका छन् ।

धार्मिक पर्यटकीय क्षेत्रको अवधारणा लिएको धरान उपमहानगरपालिकाले यस्ता मन्दिरको संरक्षण गर्नुपर्ने मन्दिर व्यवस्थापन समितिको भनाई छ ।