धनकुटा/ धनकुटाको छथर जोरपार्टी गाउँपालिकको खानेपानी समस्या भएको वडाहरुमा लिफ्टिङ पुर्‍याउन काम थालिएको छ ।

 छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ का सर्वसाधारण बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका थिए ।

तर अब तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएपछि भने सर्वसाधारणले खानेपानीको समस्या झेल्नु नपर्ने भएको हो ।

यी वडाहरुमा जोरपाटी बृहत् खानेपानी आयोजना अन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्‍याउन लागिएको जनाइएको छ ।

संघीय सरकारको १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी रहेको आयोजनाले जनाएको छ ।

यो आयोजना पूरा भएमा ती वडाका १ हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए ।

उनले भने–‘गाउँपालिकाका यी वडाहरुका सर्वसाधारण बर्षौदेखि खानेपानीको अभाव झेलिरहेका थिए, यो आयोजना पूरा भएपछि ती वडाका १ हजार २ सय ९५ घर धुरी लाभान्वित हुन्छन् ।’

खानेपानी अभावकै कारण त्यहाँका सर्वसाधारण बसाई सर्ने गरेका थिए । तर आयोजना सम्पन्न भएको खण्डमा बसाई सराई समेत रोकिने बताइएको छ ।

आयोजनाले सातवटा ‘लिफ्टिङ स्टेशन’ र चार वितरण केन्द्र रहेकोे सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्र, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ । 

खानेपानी अभावकै कारण  तराई लगायत विभिन्न स्थानमा बसाइँसराइको क्रम तिब्र रुपमाले बढेको बेला यो आयोजना सम्पन्न पश्चात बसाई सराई गर्ने क्रम रोकिने छथरजोरपार्टी गाउँपालिका वडा नं ४ का सचिव शंकर ओझाले बताए ।

उनले भने –‘यो आयोजना गत बर्ष अर्थातं २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ । समयमै सम्पन्न गर्न कामलाई तिब्रता दिइएको छ ।’ 

ठेकेदार कम्पनीका सञ्चालक गुणराज अधिकारीले  हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको बताए ।

उनले भने–‘आयोजना अन्तर्गत हालसम्म ७० किमी पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्यांकी र चारवटा सुरक्षा भवनको काम सकिएको छ ।’

बजेट अभावका कारण ठेक्काको बाँकी रकम आउने टुंगो नभएकाले काम रोकिन काम प्रभावित हुन सक्ने उनले बताए ।

उनले भने ‘खानेपानी विभागले बजेट पठाउने टुंगो छैन, पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ, समयमा बजेट उपलव्ध भएको खण्डमा अगामी असार मसान्तसम्म काम सकेर साउन–भदौबाट खानेपानी परीक्षण सुरु हुन्छ ।’