तेह्रथुम /  तेह्रथुम जिल्लाको ऐतिहासिक स्थल छाते ढुंगाको संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा रहेको यो ढुंगा सय वर्ष पुरानो मानिन्छ । ऐतिहासिक ढुंगा हेर्नकै लागि दैनिक आन्तरिक पर्यटक जाने गर्छन् तर यसको संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै गएको स्थानीयहरु बताउँछन् ।

सय वर्ष पुरानो सो ढुंंगाको नामबाट छातेढुंगा गाविस नामकरण भएको थियो । अहिले सो गाविस आठराई गाउँपालिकाको ५ नं वडा भएको छ ।

तेह्रथुमका राजनीतिककर्मी तथा प्रदेश १ का पूर्व पर्यटन मन्त्री लक्ष्मण तिवारीले यस्ता ऐतिहासिक स्थलको संरक्षणमा सरकार लाग्नुपर्ने बेला आएको बताएका छन् । उनले भने –‘यो ढुंगा वि.सं. १९८१ मा स्थानीयबासी शुकलाल कन्दङ्बाले निर्माण गरेको कुरा ढुंगाको खम्बामा उल्लेख गरिएको छ, यसको अर्थ यो निर्माण भएको करिब १ सय वर्ष पुग्न लागेको छ, त्यो तेह्रथुम जिल्लाकै इतिहास हो, यसको संरक्षण जरुरी छ ।’

ढुंगाबाट बनेको छाता हेर्नेहरु समेत मोहित हुने गरेका छन् । एक पटक पुग्ने जो कोही त्यहाँ पटक पटक पुग्ने गरेका छ । लाली गुराँस नगरपालिका तेह्रथुमका मणिकुमार सुब्बाले त्यहाँ पुगेर ढुंगाको छाता हेर्दा र बस्दा आनन्द लाग्ने बताए । उनले भने ‘आठराईको ऐतिहासिकतासँग जोडिएको यो पर्यटकीय स्थल प्रर्वद्धनका लागि राज्यको उपस्थिति भने शून्य रहकेो छ। यसको संरक्षण र प्रवद्र्धन गर्न सके पूर्वको पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्न सकिने थियो । ’

उनले ढुंगाको छातासँगै त्यहाँ कोरिएका चन्द्र, सूर्य, तारा, नाग, माछालगायतका देवदेवीका चित्रले यसको यो ढुंगाको आकर्षण झन बढेको बताए ।

कोशीपत्र दैनिक बाट