धरान / प्रदेश एकको नाम कोशी प्रदेश  भएसँगै पहिचानवादी दलहरुले संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन् । धरानमा समेत बिहीबार प्रदेश १ को नाम ‘कोशी’ राखिएकोमा राके जुलुससहित भानुचौकमामा विरोध रुप कोणसभाको आयाजना गरिएको हो ।

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिले प्रदेशसभाबाट पारित गरिएको कोशी प्रदेश खारेजीको माग समेत गरेको छ । उनीहरुले षड्यन्त्रपूर्वक कोशी प्रदेश राखिएको आरोप लगाउदै खारेजीको माग गरेका हुन् ।

उनीहरुले १.नं प्रदेशको नाम लिम्बुवान, खम्बुवान, किराँत राज्य घोषणा गर, नामकरण गरिएको कोशी प्रदेश खारेज गर, प्रदेश १.को नामकरण पहिचानको आधारमा लिम्बुवान, किराँत खम्बुवान घोषणा गर, पहिचान विरोधीहरु होसियार, कोशी प्रदेश मान्देनौँ, सम्पूर्ण पहिचानवादी एक हौँ, पहिचान विरोधी नामकरण मान्दैनौँ जस्ता नाराहरु लगाएका थिए । 

कोणसभामा बोल्दै किराँत याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले भूगोल, ऐतिहासिक ,पहिचानको आधारमा नामकरण नगरी जातीय नाम लिम्बुवान, खम्बुवान, किरात हो भन्दै षड्यन्त्र मुलक तरिकाले कोशी प्रदेश राखेको बताउँदै पहिचानवादीलाई समेट्ने गरी प्रदेश १ को नामाकरण हुनुपर्ने बताए । 

उनले भने–‘पहिचानवादी शक्तिलाई दबाउन कोशी प्रदेश राखिएको छ, यो हामीलाई मान्य छैन, हामी यसको विरोधमा निरन्तर आन्दोलनमा उत्रन्छौँ । ’

कोणसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय महासचिव  दिलकुमार लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केन्द्रीय महासचिव अशोक चेम्जोङ, संघीय लिम्बुवान मञ्च सुनसरी जिल्ला अध्यक्ष अमर इजम, सघिय समाजबादी केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष  जेन्टल लावती , सोही पार्टीका केन्द्रीय राष्ट्रिय समिति सदस्य भिम राई, केन्द्रिय सदस्य दुर्गा माया वनेम, चुम्लुङका संस्थापक तथा सल्लाहकार  नर प्रसाद लिम्बु, किराँत खम्बुवान साझा पार्टी केन्द्रिय अध्यक्ष भुपी कोयु, नेकपा एस पार्टी धरान उपमहानगर सचिव खेम दाहाल लगायले प्रदेश नं. १ को नाम कोशी प्रदेश खारेज गर्नुपर्ने माग राखेका थिए ।  कोणसभापछि  जसपा निकट युवा संगठन १ नं.प्रदेश संयोजक श्री सुब्बाको नेतृत्वमा धरान ७ मा रहेको जसपा धरानको पुरानो पार्टी कार्यालयबाटे राके जुलुस निकालिएको थियो । राके जुलुलाई प्रहरीले नियन्त्रणमा लिई निभाएको थियोे ।

उनीहरुले प्रदेश नामाकरणलाई नसच्याए कडा आन्दोलन गर्र्ने चेतावनी  समेत दिएका छन् । बिहीबार संघर्ष समितिले १ नं.प्रदेश बिराटनगर घेराउ गर्ने जनाउँदै  संघर्ष समितिले बिहीबारै धरान १३ मा रहेको नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलनको अयाोजना गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने समेत जनाएका छन्

धनकुटामा पनि आन्दोलन 

 छापामार शैलीमा प्रदेशको नाम कोशी प्रदेशको नामकरण गरिएको भन्दै  पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन ।

बिहीबार धनकुटाको चारवटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति  र नेपाल आदिवासी जनजाति महासंघले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।

पञ्चायतीशैलीमा जबरजस्ती ढंगले  ६ वटा प्रदेशमा शासक जातीय पहिचनामा आधारित कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक  जातीय साम्प्रादायिक नाम राख्ने षडयन्त्र भएको प्रति असहमति रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश १ को नामकरण  किराँत, लिम्बूवान माग गर्दै आएको  भए पनि पहिचानविरोधी कोशी  छलफल नै नगराई हतास र  निरंकुश ढंगले  नामकरण गराइएकोमा  प्रतिकार गर्दै आन्दोलनमा होमिन बाध्य बनेको समेत विज्ञप्तिमा उल्लेख  छ । 

यसैबीच पहिचानबिना नै प्रदेश १ को नाम कोशी राखिएको विरोधमा धनकुटामा  प्रदर्शन गरिएको छ । एकघण्टा चक्का जाम  गरेर  धनकुटामा  बुधबार   प्रदेशको नाम कोशी राखिएकोमा नेपाल आदिवासी जनजाति महासंघ लगायतका १५ वटा संस्थाले संयुक्तरुपमा  विरोध जनाएका हुन् । कोशी प्रदेश लेखिएको पम्पलेट जलाउदै षडयन्त्रपूर्ण ढंगले प्रदेशको नाम राखिएको भन्दै आन्दोलनमा उत्रिनु परेको नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले बताए ।