विराटनगर / नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरेका हुन । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो ।
नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा एक कठ्ठा जग्गामा वि.सं. २०७९ कात्तिक २१ गतेबाट निर्माण कार्य सुरु गरी चार महिनाको अवधिमा उक्त सङ्ग्रहालयको निर्माण कार्य सम्पन्न गरेको थियो ।
सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्राहरु राखिएका छन् । महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किवदन्ती रहेको छ । पाँच पाण्डव र उनीहरुका श्रीमती द्रोपति गुप्तबासको दौरान नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ रहेको छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डबाट संरक्षण गर्दै आइरहेको छ ।
वि.सं. २०२७ नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएपश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो । सो अवसरमा नेपाली सेनाका पूर्वी पृतनापति उपरथी डा. आशबहादुर तामाङले ऐतिहासिक सङ्ग्राहलय स्थानीय जनताको सम्पत्ति भएको बताएका थिए ।