इलाम / पछिल्लो समय तराई क्षेत्रमा बसोबासका लागि बसाई सराइ गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ  । 

ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायातको सुविधा नभएको कारण तराई क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्ने गरेको हो  । जनसंख्या दिन दिनै घट्ने र बसाई सराइले गाउँ सुनसान हुन थालेपछि इलाम नगरपालिकाले बसाईसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा गरी सम्मान गर्न थालेको छ  । 

वडा कार्यालयमा एक कार्यक्रम गरि अन्य पालिकाबाट बसाँईसरी आउन प्रोत्साहन होस् भन्ने उदेश्यले आउनेहरूलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ  । नगरपालिकाको नीति तथा कार्यक्रमबाटै बसाँईसराई गरी आउनेहरूलाई सम्मान गर्ने जनाएको हो  । जस अन्तर्गत वडा नं ४ ले आफ्नो वडामा आएका ११ जनालाई सम्मान गरेको हो  । 

नगर प्रमुख केदार थापाले माला, ढाका टोपी र सम्मान पत्रले सम्मान गरे  । इलामका अन्य पालिका र विभिन्न जिल्लाबाट बसाँईसरी आएका व्यक्तिलाई सम्मान साथै आउनेहरूको निःशुल्क स्वास्थ्य विमा गरिएको वडा अध्यक्ष नुतनदेव दुलालले जानकारी दिए  ।

बसाईसरी आउनेहरूमा सन्दकपुर गाउँपालिका, सूर्योदय नगरपालिका लगायत अन्य ठाउँबाट पनि आएर बसोबास गरेका छन्  । वडा कार्यालयले आफ्नो वडामा बसोबास गरेका ४३ जना कृषकलाई १२ जातको तरकारीकोको बिउ वितरण वितरण गरेको छ  ।

  वडालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले तरकारी खेती सम्बन्धी २ दिने तालिम समेत सञ्चालन गरेको थियो  । तालिम पश्चात् उक्त किसानलाई प्लास्टिक टनेल, गाडेन पाइप,कुट्टो र पाँच सय कृषकलाई बिउ वितरण गरेको वडाध्यक्ष दुलालले बताए  ।