सुनसरी  / विभागीय टोली त्रिभुवन आर्मीको जितसंगै १३ औ इटहरी गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई ४—१ गोल अन्तरले हराएको हो । आर्मीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको छ । आर्मीको जितमा दिपक गुरुङ, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामाङले १ - १ गोल गरे ।

रोलिङका डेडी वाम्बाले सान्तवाना गोल फर्काए । खेलको सुरुवातबाटै दबाब बनाएको आर्मीले तेश्रो मिनेटमा अग्रता बनायो । डिबक्स नजिकबाट उनले गरेको प्रहार सिधै जाली चुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा कप्तान कार्कीले अग्रता दोब्बर बनाए । युद्ध शाहीको पासलाई कार्कीले सदुपयोग गर्दै अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफमा २ गोलको अग्रता बनाएको आर्मीले दोश्रो हाफमा थप २ गोल गर्न सफल रहयो । 

६२ औ मिनेटमा सुदिल राईले अग्रता ३—० बनाए । दिनेश हेन्जनको पासलाई राईले जाली चुमाए । ६४ औ मिनेटमा रोलिङका अफ्रिकी खेलाडी वाम्बाले पेनाल्टी मार्फत अग्रता ३—१ मा झार्न सफल भए । डिबक्सभित्र बिमल पाण्डेले ह्रयान्ड गरेपछि पाएको अवसरलाई वाम्बाले खेर फालेनन् ।

इन्जुरी समयमा तामाङले गोल गरेपछि आर्मी ४—१ गोल अन्तरको स्पष्ट जित सहित सेमीफाइनल प्रवेश गरेको हो । रोलिङ गत संस्करणमा समेत आर्मीसंग पराजित भएको थियो । १२ औ संस्करणमा सेमीफाइनलमा भिडेका २ टोली यस पटक क्वाटरफाइनलमा आमने सामने भएका थिए । 

आर्मीले आगामी चैत्र ९ गते फाइनल प्रवेशका लागि चिरप्रतिद्धन्द्धी चर्च व्वाइज युनाइटेडसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लबले लिग बिजेता मछिन्द्र क्लबसंग प्रतिस्पर्धा गर्नेछ । सगरमाथाले क्यामरुनी टोली एभेनियरलाई हराउँदै सेमीफाइनल स्थान बनाएको थियो । मछिन्द्रले आयोजक टोली राष्ट्रिय जागृति क्लबलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । 

आर्मीका प्रशिक्षक नविन न्यौपानले लिगमा लगातार खेलका कारण अपेक्षा अनुरुप प्रर्दशन नभएको बताए । उनले खेलाडीहरुको थकानका कारण २५ प्रतिशत मात्र खेल देखाउन सकेको बताए । न्यौपानेले मंगलबारको खेलमा सुरुवातमा स्कोर निस्किएपछि पनि पाएको धेरै अवसरहरु सदुपयोग हुन नसकेको बताए ।

खेलाडीहरुको थकानका कारण आश गरिएका खेलाडीहरुबाट अपेक्षिकृत प्रर्दशन नभएको बताए । पहिलो रोजाईका केही खेलाडीहरु राष्ट्रिय क्याम्पमा भएपनि जुनियर खेलाडीहरुबाट स्कोर निस्किरहेको बताए । रोलिङका प्रशिक्षक मुकुम लिम्बुले डिफेन्समा बिल्डअप नहुँदा पराजय भोगेको बताए ।

उनले गोलरक्षको गल्ती कारण गोलका अवसरहरु धेरै निस्एिको बताए । लिम्बुले ए डिभिजन लिगका कारण राम्रा खेलाडीहरु नपाएको कारण प्रतिस्पर्धात्मक टोली तयार गर्न नसकिएको बताए । अफ्रिकी खेलाडीहरु भएपनि अपेक्षा अनुरुप प्रर्दशन गर्न चुकेको उनको भनाइ थियो ।