धरान /धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीच विवाद बढ्दै जाँदा धरानका सात राजनीतिक दलले भने एक प्रेस विज्ञप्ती नै प्रकाशित गरेर मेयरले दम्भ, अहंकार र अपरिपक्वता प्रदेश गरेको ठहर गर्दै सार्वजनिक वक्तव्य प्रकाशित गरेका छन् ।

मेयरकै स्वेच्छाकारी प्रवृत्तिका कारण विगतदेखि नै वडाध्यक्ष र कार्यपालिका सदस्यबीच असमझदारी बढ्दै गएको ठहर गर्दै सात दलले अहिले पनि त्यस्तै प्रवृत्ति दोहोरिएको बताएका छन् ।

उनीहरुले सार्वजनिक गरेको वक्तव्यमा धरानमा नगर प्रमुख हर्कराज राई एकातिर र वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्य अर्कातिर हुँदा आपसी असमझदारी बढेको बताउँदै यसले धरानको समग्र विकासमा असर पुर्‍याएको जनाएका छन् ।

धरानका सात राजनीतिक दलले सार्वजनिक गरेको वक्तव्यमा नगर प्रमुख राईलाई माफी माग्न र जनप्रतिनिधि बीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । 

press-bighyapti-1

धरानका नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,  नेकपा एकीकृत समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै सद्भाव र सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् । 

दलहरुले मेयर राईका निजी सचिवालयका कर्मचारी मार्फत लेखिएको पत्र फिर्ता लिई सम्बन्धित महाशाखाबाट पत्राचार गरेर भुल सुधार गर्न र गल्ती ’रियलाइज’ गर्न तथा सेवाग्राही सन्तोष लिम्बूमाथि भएको घटनामा निजले माग गरेको सिफारिस दिई आत्मालोचना गर्न र वडाध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण फिर्ता लिई आफूबाट भएको भूल स्वीकार गर्दै सम्पूर्ण जनप्रतिनिधिबीच आपसी एकता, सद्भाव र सहकार्य गरी सबैले ससम्मान काम गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख राईले विगतमा पनि पटकपटक वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई होच्याएर बोलेर र कार्यपालिका सदस्यहरुले राखेका विचारलाई तोडमोड गरी उत्तेजित गराउने र बैठकलाई अमर्यादित बनाउने गरिएको दलहरूले आरोप लगाएका छन् ।

‘त्यत्ति मात्र होइन केही युट्युव च्यानल तथा सञ्चार माध्यम प्रयोग गरी कार्यपालिका सदस्यहरुको विचारलाई काँटछाँट गरी अतिरन्जित गराउने तथा प्रोपोगाण्डा गर्ने गरेको’ दलहरूको भनाइ छ । 

दलहरुले विज्ञप्तिमा भनेका छन्,’जनप्रतिनिधिबीच आपसी असमझदारी, बेमेल द्वन्द्व, स्वेच्छाचारी प्रवृत्ति, भ्रष्टचारका कारण धरानको विकास र समृद्धिमा आँच आएमा दलहरु चुप लागेर नबस्ने समेत प्रष्ट पार्न चाहान्छौं ।’        

नगर प्रमुख राईको ’हर्क साम्पाङ ए रिभोलुसन’ नामक फेसबुक पेजमा विगतदेखि नै निरन्तर वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिकदलहरु माथि झुटो, कपोकल्पित र भ्रामक विषयहरु पोष्ट गर्ने र आफ्ना फेक आइडी र फलोअर्सहरुवाट अशिष्ट, अमर्यादित र अश्लिल गाली गलौज गर्ने गराउने गरेको तथ्य रहेको दकहरुले उल्लेख गरेका छन् ।

यस अघि पनि कार्यपालिका सदस्य अनुप देवानलाई बैठकमा विचार राख्दा राख्दै रोकेर बाहिर जानु भनेपछि भांडिएको बैठकले नगर परिषद समेत प्रभावित बनेको थियो । त्यस समय पनि राजनीतिकदलहरुले आपसी संवाद र छलफलबाट उत्पन्न असहज परिस्थितिलाई सहज बनाउन सचेत गराएपछि आफ्नो कार्यकक्षमा नगर प्रमुख राईले गल्ती भएको महसुस गर्दै अब यस्ता कमीकमजोरी कसैबाट नगर्ने भनी आत्मालोचना गरे पछि वातावरण सहज बनेको थियो ।

दलित समुदायलाई अपमान गरेको विषयमा राष्ट्रिय दलित आयोगले माफ माग्न अनुरोध गर्दा उल्टै आयोगलाई नै चुनौती दिएको र पछि कारबाही हुने भएपछि शब्द फिर्ता लिई नगर प्रमुख राईले माफी मागेका थिए ।