मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगमी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यकरण हुने योजना तर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

मङ्गलबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।  मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभावी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताए ।

  अहिलेकै गतिमा सडक, पुल र भवन निर्माणमा बजेट खर्च गर्दै जाने हो भने आगमी तीन वर्षमा तिनको मर्मत सम्भारका लागि बजेटको आकारलाई दोब्बर बनाउनुपर्ने अवस्था रहेको प्रस्ट पारे । 

पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्ने तर्फ सचेत गराउँदै जनतामा वितृष्ण बढाउने किसिमका  योजनामा लगानी नगर्न आग्रह गरे । 

उनले गोरुगाडा देखि गुन्द्रुक बिक्री गर्ने सम्मलाई करको दायरामा ल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दा पनि दायरा बढाउने तर्फ ध्यान दिनुपर्ने बताए । 

अहिलेको बजेटबाट धेरै काम गर्न नसकेपनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने कुरामा प्रदेश सरकार तयार रहेको  उहाँको भनाइ छ  । मुख्यमन्त्री कार्कीले भन्नुभयो – ‘गाउँपालिकाहरुलाई एक भन्दा पनि दुई वा सो भन्दा बढी पालिका सहभागि हुने सामुहिक योजना निर्माणमा ध्यान दिनुहोस,  त्यस्ता सामुहिक योजनामा प्रदेश सरकारको प्रथामिकता रहने छ ।’  

उनले मुलुक सङेघीयतामा गएसँग विकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।