धरान /  धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।

शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ ।

सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ ।

निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएको अध्यक्ष प्रधानले बताइन् । उनले भनिन्–‘आर्थिक अभाव र समयको अभावका कारण अस्पताल गएर चेकजाँच गर्न नसकेकाहरुलाई लक्षित गरी हामीले निःशुल्क चेकजाँच, औषधि वितरण गरेका हौै, चेकसँगै औषधि वितरण पनि सूर्य आइ केयरले नै गरिदिएको हो ।

सो अवसरमा चेकजाँचमा आएकाहरुलाई प्रेसर र सुगरको समेत चेकजाँच गरिएको थियो ।

एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् । महिलाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले एक वर्ष अगाडि खोलिएको समूहले संस्था गठन भए लगत्तै यो संस्थाको सक्रियता बढाएको छ । 

यस भन्दा अगाडि समूहले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो त्यसबेला ६७ पिन्ट रगत संकलन भएको थियो । यस्तै संस्थाकै मातहतमा महिलाहरुलाई आत्मनिर्भर बनाउन हेयर कटिङ तालिमको आयो्जना गरेको थियो जसमा ३० जना महिला सहभागी थिए । 

घर आँगन स्वच्छ र सफा राख्नुपर्छ भन्ने मूल अभिप्रायले यो संस्थाले विभिन्न ठाउँमा सरसफाइको कार्यक्रम समेत गदै आएको छ । यसै अनुरुप संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसका दिन समेत सरफाइ गरेको थियो ।