धनकुटा / निर्माणाधीन तमोर करिडोरले धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको करिडोरबाट पाँचथर र ताप्लेजुङसम्म जाने गरेका छन् ।

तराईबाट उक्त दुई जिल्लासम्म जान करिडोरको बाटो छोटो पर्ने भएकाले यहाँ अहिले यात्रु तथा मालवाहक सवारीसाधनको चाप दैनिक बढ्ने क्रममा छ । यातायातको चाप बढेर चहलपहल बढेसँगै करिडोर आसपासका नागरिक होटल तथा व्यापारतर्फउन्मुख हुन थालेका छन् ।

विसं २०७० मा यस स्थानमा सडक पुगेसँगै आफू कृषिबाट होटल व्यवसायमा लागेको चौबिसे गाउँपालिका–५ हङ्समोरङ बेंसीकी रुपादेवी दाहालले जानकारी दिइन्  । आफूसँग भएको तीन रोपनी जमिनबाट जीवनयापन असहज भइरहेका बेला करिडोरको व्यापारले आफ्ना तीन जनाको परिवारको जीवनयापनमा सहज भएको उनले सुनाइन् ।

पहिला करिडोर लक्षित पसल तथा होटल कम भएकाले दैनिक  तीनदेखि पाँच हजार कमाइ भए पनि हाल भने सडक छेउमा अनगिन्ति होटल सञ्चालनमा आएकाले व्यापारमा कमी आएको उनको भनाइ छ ।

साँगुरीगढी गाउँपालिका–३ कुशेटारका ४६ वर्षीय खेम न्यौपानेले गत वर्षबाट कृषि पेशा छाडेर सानो किराना पसल र होटल सञ्चालन गर्दै आएका छन् । एक बर्ष अगाडि पाँच लाख लगानी लगाएर शुरु गरेको व्यवसायमा न्यौपानेले मासिक रु ४० हजारसम्म कमाइ हुने गरेको बताए ।

पहिला कृषि पेसाबाट जीवनयापन असहज भएपछि वैदेशिक रोजगारीमा गएका न्यौपानेले करिडोरमा चहलपहल बढेपछि व्यापारमा लागेको बताए । पहिला बजार नपाएर त्यसै खेरजाने यहाँका उत्पादन अहिले करिडोर बनेपछि यस ठाउँका स्थानीयले मनग्य आम्दानी गरिरहेको उनले बताए ।

करिडोरका कारण चौबिसे वडा नं ५ भैँसेटारका २६ घर माझी परिवारको जीवनमा पनि सहजता आउन थालेको छ । पारम्परिकरुपमा माछा मार्ने र खेतीपाती गर्दै आएका सो क्षेत्रका माझी पसल गर्ने तथा सवारीसाधनमा काम गर्नेतर्फ अग्रसर रहेको स्थानीय राजन माझीले बताए ।

करिडोरमा दैनिक एक सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने भएकाले उनीहरुले तमोर नदीमा मारेको माछासमेत तत्काल र उचित मूल्यमा बिक्ने गरेको उनले बताए । ‘पहिला मारेको माछा कहिले बिक्ला भनेर सुकाएर राख्नुपथ्र्यो’, उनले भने, ‘अहिले तुरुन्त बिक्छ, हामीलाई जीवन चलाउन धेरै राहत भएको छ ।’

दुई वर्षअघिदेखि रु ४० हजारमा सामान्य किराना पसल खोलेका माझीले हाल गाउँमा सो समुदायका चार किराना सञ्चालन गरिरहेको जानकारी दिए । भारतको जोगवनीदेखि चीनको ओलाङ्चुङगोला जोड्ने दुई सय ५४ किमी लामो उक्त करिडोरको मूलघाट–पाँचथर सडकखण्ड अहिले ग्राभेल भएर कालोपत्रको चरणमा छ । रासस