धरान /  बैशाख १८ गते धरानमा मजदुरहरुले प्रदर्शन गर्ने भएको छ । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरुको प्रदर्शन गर्ने तयारी गरेको हो ।

धरानमा रहेका जिफन्ट सम्बध युनियनका अध्यक्षहरुको भेलाले श्रमिकहरुको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पूँजी पक्षिय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ ।

समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् । सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद सदस्य युनियनहरुका धरानमा उपलब्ध केन्द्रीय नेताहरु र आठ वटा सदस्य युनियनहरुका स्थानीय कमिटीका सबै मूल समितिका सदस्य रहेका छन् ।

सन १८८९ मे १ देखि संसार भरीका श्रमिकहरुले मे दिवस मनाउदै आइरहेका छन् । यस पटक धरानमा हुने मे दिवसमा धरानका विद्यालयहरुलाई, सामाजिक संघसंस्थाहरुलाई र सबै राजनीतिक दलहरु र जनसंगठनहरुलाई निमन्त्रणा गरिने तयारी रहेको मजदुर नेता भीमज्वाला राईले बताए ।

सबैले मे दिवस बारे सुन्दै आएको र विद्यालयहरुमा पढ्दै आइरहेको भएपनि यो दिवस किन मनाइन्छ र यसको सुरुवात कसरी भएको हो भन्ने विषय आम रुपमा जानकारी नभएकाले सबैलाई सहभागी गराएर मनाउन लागिएको राइले बताए ।

सबैको सहभागीताले संसार निर्माणमा श्रमिकहरुको भूमिका र योगदानको बारेमा समाजका सबै तहका जनसमुदायमा अवगत हुने र श्रमप्रतिको सम्मान बढेर जाने राईले बताए ।