मोरङ / नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ । नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।

       कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा नोबेलको न्यूरो सर्जरी बिभागका प्रमुख बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी बिभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार विरामीको उपचार र करिब ४ हजार विरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।

       कार्यक्रममा सहभागिहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले स्वागत गरेका थिए । डा.सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।