मोरङ /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले  उत्पादकत्व वृद्धि गरी  गरीवी निवारण  र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताएका छन् ।  पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गरे ।

उनले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने बताए । 

उनले आयोजना सफल पार्न निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिए ।  उनले  सरकारी क्षेत्रको मात्र सहयोगमा आयोजना सफल हुन नसक्ने बताए । आयोजनाले काम गर्दै जाँदा बजारीकरण लगायतका अनेक समस्या आउने भएकाले ती समस्याको समाधान गर्न निजी क्षेत्र अपरिहार्य भएको मुख्यमन्त्री कार्कीको भनाई छ । पहाडी क्षेत्रका विभिन्न ३४ जिल्लालाई कार्य क्षेत्र बनाएर सञ्चालनमा आएको उक्त आयोजनाले स्याउ, एभोकार्ड लगायतका फलफूल उत्पादनमा लगानी गर्दै आएको छ ।