वराहक्षेत्र /  पहाडी भू–भाग, सुख्खा ठाउँ भएकाले पानीको श्रोत पर्याप्त नहुँदा बराहक्षेत्र नगरपालिकाको चावचाका स्थानीयले वर्षौ देखि भोग्दै आएको पानीको समस्या अब समाधान उन्मुख भएको छ । 

वराहक्षेत्र १ स्थित चावचामा करिब ३५ घर रहेका छन् । खोला, खोल्सिको पानी संकलन गरेर पानीको जोह गर्दै पानीको आवश्यक्ता पुरा गर्दै आएका थिए । गाउँ भन्दा करिब ३ किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी आउने भएपछि खानेपानीको समस्या समाधान हुने भए पछि स्थानीय खुसी भएका छन् । चावचामा खानेपानीले समस्यालाई समाधान गर्न नजिकैको दूधपानी खोलाबाट पानी ल्याउन लागिएको हो ।

खानेपानीको समस्या समाधान गर्न चाबचावासिले बराहक्षेत्र नगरपालिका सँग माग गर्दै आएका थिए । आइतबार बसेको नगरपालिकाको कार्यपालिकाको बैठकले चावचामा पानी ल्याउन स्थानीयवासीको सहयोग लिएर श्रमदान गर्न निर्णय गरेको थियो । निर्णय अनुसार खानेपानी ल्याउन वराहक्षेत्र नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ ।

बुधवार बिहान नगरप्रमुख रमेश कार्की  स्थानीयवासीको सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरूको टोली सहित पाईप लिएर खोलाको मुहान पुगेका थिए । वराहक्षेत्र नगरपालिकाको वडा नं १ को चावचामा जस्तै केही गाउँमा खानेपानीको समस्या भएकोले यसलाई पनि श्रमदानको माध्यमबाटै समस्या समधानको योजना बनाइने नगरप्रमुख रमेश कार्की बताउँछन् ।

कार्यपालिकाबाटै निर्णय गरेर श्रमदानको अभियान सुरु गरे चावचामा पानी ल्याउन जनप्रतिनिधिको भत्ता र कर्मचारीहरूको केही दिनको तलवबाट पाईप खरिद गरीने उनको भनाइ छ । अभियानमा नगरप्रमुख सहित वडाध्यक्षहरू, जनप्रतिनिधिहरू लागि परेर पानी ल्याउने कार्य अघि बढेको स्थानीय कृष्ण भण्डारी बताउँछन् ।