मोरङ /  नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् । 

मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटनका क्रममा नेता कोइरालाले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको  बताए ।

उनले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर विधानमै उल्लेख छं ।” 

कोइरालाले आफूलाई पनि डाक्टर अध्ययन सकेपछि धर्मपरिवर्तनका प्रस्ताव आएको सुनाउँदै सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेको समेत बताए । नेता कोइरालाले धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने दाबी गरे ।

“धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन,” कोइरालाले थपे, “सभ्य समाज नभई सभ्य र सुसंस्कृति राष्ट्र बन्न सक्दैन ।” 

उनले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएको समेत उल्लेख गरे । कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद संग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । ४ कठ्ठा २ धुर जग्गामा करिब १ करोडको लागतमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिरस्थलमा बुधबारदेखि जेठ ४ गतेसम्म श्रीमद भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।