सुनसरी / रिहाइको माग गर्दै मधेसबादी दलहरुले आन्दोलन चर्काइ रहदा पनि टिकापुर हत्याकाण्डका आरोपित तथा पुर्व सांसद रेशम चौधरीलाई उच्च अदालत दिपायलले गरेको जन्मकैदको निर्णय सर्वोच्चले पनि सदर गरेको छ । 

२०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। एक नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी भएको उक्त हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए। 

उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो। अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर नपुग्ने भएको इजलासले जनाएको छ । 

सर्बोच्चको इजलासले उच्च अदालत दिपायलले ज्यान मार्ने उद्योगमा पाच वर्ष कैद सुनाएका प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ।  अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले सुनाएको पाँच वर्ष कैद घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ।  

डिल्लीबजार कारागारमा रहेका चौधरीले कारागार बाटै खोलेको नयाँ पार्टीले गत संसदीय चुनावमा ४ सिट जितेको छ। उनकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारण मन्त्री छन्।