धरान /  प्रदेश न १ कै उत्कृष्ठ पर्यटकीय क्षेत्रको रुपमा चिनिएको धनकुटाको साँगुरिगढि गाउँपालिकामा रहेको नाम्जे–थुम्की सामुदायीक होमस्टेमा सिजनको समयमा पनि पर्यटकहरु आएनन् ।

 विगतका बर्षहरुमा गर्मी मौसममा अत्याधिक पर्यटक आउने गरे पनि यस बर्ष भने विगतका बर्षजस्तो पर्यटक नआएको नाम्जे होमस्टे सञ्चालक अनिल राना मगर बताउँछन् । उनी भन्छन्–‘कोरोना संक्रमणपछि सुस्ताएको भेडेटारको व्यापार अहिलेसम्म तंग्रिन सकेको छैन, पर्यटक नै नआएपनि भेडेटार सुनसान छ भने होम स्टेहरु समेत सुनसान छ ।’

अर्गानिक उत्पादन र मगरहरुको मौलिक संस्कृति प्रबद्र्धनका लागि चिनिएको यस स्थानलाई अमेरिकि सामाचार संस्था सिएन्एन्ले नाम्जे गाउँलाई घुम्नै पर्ने विश्वका १२ वटा गन्तव्यको सूचिमा सूचिकृत गरेको थियो मगरजातिहरुको बाहुल्यता रहेको नाम्जे र थुम्की टोलका दुई दर्जनभन्दा बढी होमस्टे संचालन गरिएको छ ।

घरमै अर्गानिक उपादन र मौलिक सँस्कृति पस्किने गरेको होम स्टेहरुमा पर्यटकहरुको आकर्षक बढ्ने गरेको छ । यसले गर्दापनि पर्यटक बढी आउने गरेका छन् ।

विराटनगरबाट नाम्जे होमस्टेमा पुगेका सुमन साहले अर्गानिक खानपिन र घरमै सुतेको अनुभव हुने भएकोले भेडेटार बास बस्नुपर्दा नाम्जेमा रहेको होमस्टेमा बास बस्ने गरेको बताए ।

उनले भने–‘म भेडेटार घुम्न आउँदा होमस्टेमै बस्छु, अर्गानिक खानेकुरा र पहाडी परिवेश भएको घरमा बस्न पाउँदा मलाई अत्यन्तै आनन्द लाग्छ, त्यही भएर म होटलमा बस्दिनँ ।’

नेपाल भ्रमण बर्ष २०२० को पूर्वसंन्ध्यामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ठ होमस्टे सेवा प्रदान गरेको भन्दै प्रशंसा र प्रमाण पत्र प्रदान गरेको थियो । घरवास कार्यक्रम अन्तर्गत यहाँका स्थानियले शुरु गरेको होमस्टेमा अर्र्गानिक परिकार, खानपिन र मगरहरुको मौलिक संस्कृति हुर्रा नाचका कारण प्रख्यात रहेको छ ।