काठमाडौँ / युद्ध अपराधको मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ।
शुक्रबार लेलिन विष्टलगायतले युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन्।
आफूहरूलाई बाल्यावस्थामा युद्धमा प्रयोग गरेको मात्र होइन बाल सेनाको दर्जाबाट वञ्चित गर्ने किसिमका कार्य भएको रिटमा उल्लेख गरिएको छ।
शुक्रबार दिइएको उक्त निवेदन सर्वोच्च अदालतले दर्ता गरिसकेको छैन। ‘अध्ययनपछि दर्ता गर्ने सर्वोच्च प्रशासनले जवाफ दिएको छ,’ रिट निवेदक लेलिन विष्टले भने।
निवेदनमा प्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराई, गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोग र संघीय संसदलाई विपक्षी बनाइएको छ।