सुनसरी /  जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामामात्रै  १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको जनाएको छ ।

सुनसरीकी प्रजिअ हुमकला पाण्डका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा यतिका सं्यामा नयाँ नागरिकता जारी गरिएको हो ।

नयाँ नागरिकता जारीसँगै नागरिकताको प्रतिलिपी समेत चालु आर्थिक बर्षको यही अवधिमा उल्लेख्य रुपमा वितरण गरिएको पाइएको छ । प्रजिअ पाण्डेका अनुसार सोही अवधिमा ११ हजार ३ सय ३९ जनाले  नागरिकताको प्रतिलिपि लिएका छन् ।

उनले भनिन्–‘चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार ५ सय १६ जनाले नागरिकता लिएका छन्, यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फछ्र्योट भएको छ ।’

नागरिकता बनाउनेमात्र हैन वैदेशिक रोजगारीका लागि युवाहरुको मोह बढ्दै गएको पाइएको छ । यो अवधिमा राहदानी बनाउनेको संख्या समेत उल्लेख्य रहेको प्रजिअ पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार नौ महिनाको अवधिमा ११ हजार ४ सय नौवटा राहदानी वितरण भइसकेको छ भने राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् । यी मध्ये ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार चालु आर्थिक बर्षको यही अवधिमा २० लाख १३ हजार ७ सय ५० बराबरको राहत वितरण गरेको छ । यस्तै असहाय एवं विपन्न परिवारका ५ सय ३५ जनालाई कम्बल वितरण गरेको प्रजिअ पाण्डेले जानकारी गराइन् । उनले यो अवधिमा बजार अगमनलाई समेत तिब्रता दिएको बताइन् ।

उनले भनिन्–‘सोही अवधिमा २४ वटा बजार अनुगमन, १३ वटा सार्वजनिक निकायको अनुगमन, सुरक्षा निकाय ३९ र जिल्ला सुरक्षा समिति ३२ वटा अनुगमन गरेको गरेका छौं ।’