मोरङ / कोशी प्रदेशका सांसदहरुले आफूहरुलाई पहिचानवादीबाट असुरक्षित महसुस हुदै गएको बताएका छन् । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले पछिल्लो समय आफूलाई असुरक्षित महसुस हुन थालेको बताइन् ।
उनले भनिन् ‘ म आफ्नै घर जाँदा असुरक्षित भएको महसुस हुन थालेको छ ।’
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा महिला पत्रकारहरूका लागि संसदीय रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपसभामुख दनुवारले असुरक्षित महसुस हुन थालेको बताएकी हुन ।
उनले पहिचानवादीहरुकै कारण सांसदहरुलाई असुक्षित महसुस भएको बताइन् । उनले भनिन–‘फागुन ७ गते प्रदेश १ को नाम कोशी भएसँगै पहिचानपक्षधरहरु कोशी नामाकरणको खारेजीको माग गदै सडकमा छन्, कार्यक्रम तथा कुनै सममारोहमा जान पनि सक्ने अवस्था छैन ।’
उनले पहिचानवादी पक्षधरले ले बिहिबार उदयपुरको गाईघाटमा आफूमाथि गरेको दुव्यर्वहारको समेत दृष्टान्त सुनाइन् ।
उनले भनिन्–‘ म सर्पदंश उपचार केन्द्रलाई सहयोगका लागि सम्बन्धित मन्त्रीसँग उदयपुर पुग्ने क्रममा आफूमाथि पहिचान पक्षधरले दुर्व्यवहार गरे, भेन्टिलेटर हस्तान्तरण गरिसकेपछि आफ्नो घर जाँदा आफू माथि आक्रमण भयो ।’
उनले सवारी चालकले जीवन बचाएको बताउदै ती चालकलाई धन्यवाद समेत दिइन् ।