धरान / श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा कोकाहाको पानी धरान आइपुगेको छ ।
करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी हिजो मध्यराती धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो।
पाइपलाइन बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए।
पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइने थापाले बताए।
कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर हर्क साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए। उनले पानी नल्याएसम्म घर नफर्कने घोषणा गरेका थिए।
आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए।
असम्भव लाग्ने कुरा सम्भव गरेर देखायौं,’मेयर साम्पाङले भने,‘भोकै काम गर्ने श्रमदाताहरुलाई, सहयोगी दाताहरुलाई सम्झन चाहन्छुँ । यो बाह्रो महिना नसुक्ने मुहान भएकोले ठुलो उपलब्धी हो।’
कोकाहा खानेपानी अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो।




















