धरान /  बजेट सिमा बिबादित बने पछि स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आज पुनः २ बजे बस्ने भएको छ । 

बिहिबार बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिरोध गरे पछि कार्यपालिका बैठक स्थगित भएको थियो ।

आज २ बजे कार्यपालिका बैठकका लागि प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले सुचना जारी गरेका छन् । उनका अनुसार आजको बैठकले बिहिबार उठेका बिषयहरुलाइ समाधान गर्दै वडागत र बिषयगत सिमाहरु अनुमोदन गरेर सबै वडा र समितिमा सिलिङ पठाइने भएको छ ।

आजको बैठकमा नीति तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयक पनि पेश गरिने भएको छ । 

आर्थिक वर्ष २०८०/८१ लागि धरान उपमहानगरपालिकाले १ अरब ७१ करोडको बजेट प्रक्षेपण गरेको छ ।

श्रोत बाडफाड समितिले वन तथा वातावरण तथा बिपद ब्यवस्थापनमा १ करोड ५० लाख, आर्थिक बिकाश तर्फ ६९ लाख ५० हजार, सामाजिक बिकाश तर्फ ४ करोड ४१ लाख, सुशासन तथा संस्थागत बिकाशमा १ करोड २० लाख ५० हजार र पुर्वाधार बिकाशमा ३६ करोड ४७ लाख ५० हजार बिनियोजन गरेको छ । 

त्यसै गरि अन्य शीर्षकमा ६७ करोड ६६ लाख ५० हजार, वडागत बजेट २१ करोड गरि जम्मा क्षेत्रगत बिनियोजन आन्तरिक तर्फ १ अरब ११ करोड ५० लाख रहेको छ भने सशर्त अनुदान तर्फको बिनियोजन ५९ करोड ५० लाख रहेको छ ।

धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि आय तर्फ आन्तरीक श्रोत ३७ करोड ६२ लाख ६ हजार प्रक्षेपण गरेको छ ।

त्यसै गरि संघिय सरकारबाट समानिकरण, शसर्त, विशेष अनुदान र समपुरक अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट समानिकरण, शसर्त र समपुरक अनुदानबाट ४ करोड १९ लाख २ हजार र राजस्व बाडफाडबाट ३४ करोड २४ लाख २ हजार गरि कुल  १ अरब ७१ करोड रुपैया प्रक्षेपण गरिएको छ ।