विराटनगर/ अन्तराष्ट्रिय प्रतियोगितामा बहुसंख्यक नेपालीले सहमागिता जनाउंने गरेको सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता सुरु भएको छ ।
प्रदेश खेलकुद विकास बोर्डको प्रायोजन र मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनमा खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु गरिएको हो ।
पांच बिधामा गराईने प्रतियोगिताको पहिलो दिन बुधबार महिला एकल तर्फ ४ जना र पुरुष एकल तर्फ १५ जना प्रि क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेल पार गरेर प्रि क्वाटर फाइनेलमा प्रवेश गर्ने महिलामा कोशी प्रदेशबाट श्रेया राई, बाग्मतीबाट जर्जिया चौधरी, लुम्बीनीबाट बिमला मन्थी र ऋषिका चौधरी छन् ।
वर्षाका कारण पहिलो दिनको महिलाको तीन वटा खेल रोकिएको छ । लुम्बीनीका रोशन केसी, र सुमन लामा, कोशीका आशिष बोहरा, र आभाष बुढाथोकी, सशस्त्रका राजेन्द्र श्रेष्ठ, भिमबहादुर मगर र सुमन लामा बिजयी भएर प्रि क्वाटर फाइनलमा पुगेका छन् ।
वाई पाएर प्रि क्वाटर फाइनलमा कोशीका युकेश योन्जन, आशिष ढकाल, लुम्बीनीका सुरज चौधरी, सशस्त्रका कमल भण्डारी, बाग्मतीका प्रदीप खत्री, निर्मल स्थापित र ब्रीजेश पाण्डे पुगेका छन् ।
राष्ट्रिय बिजेतालाई सिधै प्रि क्वाटर फाइनलमा लाने आयोजकको रणनीति भएपनि महिला तर्फबाट सशस्त्र प्रहरीकी समृद्धी महर्जन खेलमा सहभागि हुन सकिनन् ।
आयोजकले सात प्रदेश र तीन बिभागीय टोलीलाई आमन्त्रण गरेपनि नेपाली सेना र प्रहरी तथा मधेस प्रदेश र कर्णाली प्रदेश सहभागि भएन ।
विराटनगरको शहिद रंगशाला र जुट मिल्स परिसरमा रहेको कोर्टमा प्रतियोगिता संचालन हुंदैछ ।
प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्रीद्धय मुकेश श्रीवास्तव र आनन्दप्रसाद श्रेष्ठ, राष्ट्रिय रेफ्रीहरु राजेश लामीछाने रेखा दुलाल, सन्तोष कर्माचार्य र धर्मपाल श्रेष्ठ निर्णायकको भुमिकामा छन् ।
प्रतियोगिताको बिभिन्न बिधामा प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुईलाई १०, १० हजार रुपैंया नगद पुरस्कार र मेडल राखिएको छ ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच गरेका थिए । प्रतियोगिता १६ गते समापन हुने बताइएको छ