धरान /  तोकिएको समयसिमा भित्र वडागत र बिषयगत समितिको बिस्तृत बजेट तथा कार्यक्रमहरु नआए पछि धरान उपमहानगरपालिकाको आज हुने भनिएको दोस्रो नगर सभा स्थगित भएको छ । 

असार २० गते बुधबार सम्मा सबै वडा र बिषयगत समितिहरुलाइ तोकिएको सिलिङ अनुसारको बजेट तथा कार्यक्रम बनाइ बुझाउन समय तोकिएको थियो तर समय सिमा भित्र कार्यक्रमहरु नआइपुगेकोले बुधबार बसेको कार्यपालिका बैठकले असार २५ गते सम्मका लागि नगरसभाको मिति सारेको छ । 

गत असार १० गते उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिकाको नगर सभा आज असार २१ गतेलाइ तोकिएको थियो । 

वडामा पठाएको बजेट सिलिङ घटाएर पठाएकाले जनताको आवश्यकता अनुसार काम गर्न नसकिने भएकाले बजेट तथा कार्यक्रम बनाउन वडाध्यक्षहरुले आनाकानी गरिरहेका छन् । केही वडाध्यक्षहरुले बजेट नै नलाने पनि बताइरहेका छन् ।

वडाको बजेट घट्दा अबण्डा देखिने मेयर र उपमेयर कोषमा बजेट बढे पछि पनि जनप्रतिनिधिको गुनासो बढेको हो । नगर सभा सदस्यहरुले मेयर र उपमेयर कोष खारेज गरिनु पर्ने माग गरेका छन् ।