विराटनगर/ कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेश सभा बैठक चलाउने जिम्मेवारी कांग्रेस सांसद इस्राइल मन्सुरीलाई दिएकी छन्।

सोमबार बिहान ८ बजे बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी ‍उपसभामुख दनुवारले उपसभामुखको अनुपस्थितिमा ज्येष्ठ सदस्यले बैठक चलाउने प्रावधानअनुसार मन्सुरीलाई पत्राचार गरेर  बैठकको चलाउने जिम्मेवारी तोकेकी हुन्।

पत्रमा उनले आफ्नो स्वास्थ्यमा अचानक समस्या आएकाले काठमाडौं जानु परेकाले बैठकमा उपस्थित हुन नसक्ने बताएकी छन्। 

1

कोशीमा सभामुख र उपसभाुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो।

तीमध्ये ज्येष्ठ सांसद लिलाकुमारी लिम्बु र अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

उपसभामुख दनुवार आज  बिहान ८ बजे यति एअरलाइन्सको उडानबाट काठमाडौं प्रस्थान गरेकी थिइन्। 

मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत पुग्न नदिन एमालेले आफ्ना सातै ज्येष्ठ सदस्यलाई विदामा राखेको छ।

एमाले सांसदहरू रोहितबहादुर कार्की(७१) मालतीकुमारी लिम्बू (६७) रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६) खड्गबहादुर बस्नेत (६६) किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी(६४) ले बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका थिए।  ‍

कोशीमा मुख्यमन्त्रीले विश्वास प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहन्छ।

सत्ता गठबन्धनसँग अहिले ४७ सांसद नै छन्। एमाले गठबन्धनको सरकार ढालेर ठूलो दलको हैसियतमा कोशीमा आफ्नो नेतृत्वमा सरकार बनाउन चाहन्छ। 

मन्सुरीलाई प्रदेश सभाको अध्यक्ष दिएर उपसभामुख काठमाडौं प्रस्थान गरेपछि कोशीमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसेको छ।