धरान/ धरान ९ मा स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरूलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

विद्यालयको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम गत शुक्रबार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २ सय ५० भन्दा बढी छात्रा विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आपतकालिन र अप्रत्यासित अवस्थामा आफ्नो जीउज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रुपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले यस्ता आत्मरक्षा तालिम मार्फत छात्रा विद्यार्थीहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न,

आत्मविश्वास वृद्धि गरी पठनपाठनमा थप उपलब्धि हासिल गर्न साथै समाजमा बालिका विरुद्ध हुने अपराधका घटना बढ्दै गएकाले उनीहरूलाई सुरक्षित बनाउन र सुरक्षाको प्रत्याभूति गराउन विद्यालयले यस किसिमको आत्मरक्षा तालिम प्रदान गरेको बताए ।

आत्मरक्षा तालिमको वाह्य प्रमुख प्रशिक्षकको रुपमा सुबीक्षा राई, सहायक प्रशिक्षकको रुपमा विद्यालयका तेक्वान्दो र कराते प्रशिक्षकहरू सुलभ श्रेष्ठ र सन्तोष राई रहेका थिए ।