इटहरी / विभिन्न कारणले सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको इटहरी स्थित माया घरले यो साता ५ जनाको उद्धार गरेको छ । 

धनकुटा आलेगाउँकी २७ वर्षीया मनु राई, धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु, इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु, इटहरीकी ५३ वर्षीया मिठु खतिवडा, र इटहरी खनारकी ३७ वर्षीया रिता गिरिलाई उद्धार गरी माया घर ल्याइएको हो ।

उद्धार गरिएका मध्ये टेक बहादुर र रितालाई २४ घण्टा भित्रै परिवारको जिम्मा लगाइएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन ।

त्यस्तै यो साता माया घरमा ५ जनाले आ–आफ्नो जन्मदिन मनाएको छन् । जसमा धरान, इटहरी, रामधुनी, उर्लाबारी लगायतका छन् ।

बिगतको समय भन्दा अहिले माया घरमा सहयोगी हातहरू घटेकी अध्यक्ष प्याकुरेलले बताइन । हाल माया घरमा १ सय ५० भन्दा बढीले आश्रय लिँदै आएका छन् । 

माया घरमा आश्रीतहरूलाइ सुविधा सम्पन्न भवनमा राख्न अहिले एक इँटा अभियान थालनी गरिएको छ ।

जसमा सबैलाई सहयोगको अपेक्षा पनि गरिएको छ । इटहरी २ आयुर्वेदिक टोलमा साढे ६ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन बनाउने योजना रहेको व्यवस्थापक बाबुराम सुवेदीले बताए ।

‘त्यस मध्ये पहिलो तलाको काम एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ’ व्यवस्थापक सुवेदी भने ‘ त्यसको लागि एक इँटा अभियान अन्तरगत सबैलाई जोड्ने प्रयास गरिएको हो ।’

२०८० भित्र एक तलाको काम सकिने गरी काम भइरहेको सुवेदी बताउँछन् । कोशी प्रदेश सरकारबाट रु. एक करोड विनियोजन गरी ठेक्का लगाएपछि भवन निर्माण अघि बढेको हो ।

भवन निर्माणकै लागि एक करोड भन्दा बढी रकम एक इँटा अभियानबाट सङ्कलन गरिने लक्ष्य रहेको व्यवस्थापक सुवेदी बताउँछन् । जसका लागि यो अभियानमा सरिक हुन सबैलाई आग्रह पनि गरेका छन् ।

आश्रितलाई पर्याप्त सुत्ने व्यवस्था नभएकोले सुविधा सम्पन्न भवन बनाउने योजना बनाइएको संस्थाकी अध्यक्ष प्याकुरेलले बताइन् ।

२०७४ साल पुसमा पुराण लगाएर यो संस्थाले औपचारिक सेवा दिन थालेको हो । त्यस अघि नै संस्थामा आबद्ध इटहरीका केही महिलाहरूले सडक मानव उद्धार गर्न थालेका थिए ।

उद्धार गरिएका सडक मानवलाई व्यवस्थापन गर्ने ठाउँ नहुँदा इटहरी २ मा जग्गा खोजी गरी व्यवस्थापनको काम थालिएको थियो ।

स्थानीयवासीको अग्रसरतामा संस्थाले करिब ७ कट्ठा जमिन आफ्नो बनाएको छ । त्यस मध्ये अधिकांश जमिन दाताबाटै प्राप्त भएको संस्थाले जनाएको छ ।