धरान / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् ।

धरान उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनर्गल हल्ला फिँजाएर चरित्र हत्या गर्ने प्रयास केही तत्वले गरेकोप्रति आपत्ति जनाएका छन् ।

उनले यसका लागि आफूले कानुनी उपचार खोजिरहेको बताए । उनले भने–‘सामाजिक सञ्जालमार्फत मेरो बारेमा अनर्गल हल्ला फिजाएर भ्रम छर्ने काम गरिएको पाइएको छ, यसले मेरो चरित्र हत्या हुने काम गरेको छ, म कानुनी उपचारमा जाने तयारीमा छु ।’

मङ्गलबार वडाकार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले यस्ता व्यक्तिहरुलाई कानुनी कारबाहीको लागि उजुरी समेत दिइसकेको बताएका छन् ।  उनले भने, ‘चरित्रहत्या गर्ने आरसी राईविरुद्ध उजुरी दिएको छु । आरसी राईले फोन गरेका थिए । तर तपाई जस्तो चरित्रहीन मान्छेसँग बोल्दिन । प्रहरीमा नै छलफल हुन्छ भनेर फोन राखे ।’

उनले आफू काठमाण्डौमा भएको बेला जम्मा गरेको पानी फ्यालेको आरोप लगाउँदै धराने जनतालाई भ्रम फैल्याउने काम गरेर मेरो चरित्र हत्या गर्ने काम भएको बताए । उनले भने–‘मलाई पानी फालिएको विषयमा आरोप लगाइएको छ, त्यसबेला म काठमाण्डौमा थिए, वास्तविकता भन्दा बाहिर गएर कसैको चरित्र हत्या गर्न पाइदैन, यस्तो कार्य गर्न कसैलाई छुट छैन ।

’  समिर तामाङ नगर प्रमुख हर्कराज राई (साम्पाङ) को समूहबाट निर्वाचनमा प्रदेशसभा क्षेत्र नं. २ बाट उम्मेदवार बनेको बताउँदै अहिले उनीहरु नै स्वतन्त्र नागरिक, सचेत नागरिक भएका छन् । उनले भने–‘स्वतन्त्र नागरिक पनि उही, सचेत नागरिक पनि उही, यो समूहले धरानका २० जना वडाध्यक्षलाई कालो मोसो दल्ने धम्की दिएको बताए । उनले भने–‘ के का आधारमा कालो मोसो दल्ने ? किन दल्ने ? कतिबेला कालोमासो दल्न आउँछन भनेर गाला थापेर बसेका छौँ ।’

उनले मेयर हर्क साम्पाङले कोकाहाबाट खाने पानी ल्याउने सम्बन्धमा संस्थागत निर्णय गर्नुपर्ने बताए ।