धरान / कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै आन्दोलनमा रहेका पहिचानबादीको पक्षमा उभिदै जनता समाजबादी पार्टी सरकारबाट बाहिरिएको छ । 

पहिचान पक्षधरहरूले उठाएको आन्दोलनको दबाबले अन्ततः प्रदेश सभामा एकमात्र सिट भएको जसपा बुधबार सरकारबाट बाहिरिएको हो ।

 प्रदेशमा चलेको आन्दोलनले झनै ठूलो दबाब सिर्जना गरेकाले सरकारबाट बाहिरिने निर्णय गरिएको एक नेताले बताए । 

 मतदाता, कार्यकर्ताहरू सडकमा कोशी नाम खारेजीका लागि लाठी खाइरहँदा हामीचाहिँ सरकारमा बसिरहनु नैतिकता नदिएकाले सरकारबाट बाहिरिने निर्णय लिएका उनको भनाइ छ ।

गत मंगलबारदेखि इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारमा स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। 

अध्यक्ष उपेन्द्र यादवले मंगलबार प्रदेशलाई सरकार छाड्ने निर्णय लिन निर्देशन दिएका थिए।

कोशी नामकरणको बिरोधका क्रममा आन्दोलनकारी पदम लिम्बूले ज्यान गुमाएर उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ भने सयौं घाइते भइसकेका छन र अझै केही नेता तथा कार्यकर्ता थुनामा छन् ।