सुनसरी/  विगत केही दिन देखि धरानमा सामाजिक सदभाव भड्किने खालका गतिविधि बढ्दै गए पछि सुनसरी जिल्ला प्रशासनले शनिबार गरेको धरानमा निषेधाज्ञाले जनजिवन प्रभावित बने पनि ठुलो दुर्घटनाबाट भने जोगिएको छ । 

जातीय तथा धार्मिक द्वन्द निम्तने गरि धरानमा शनिबारका लागि हिन्दु धर्मावलम्बीहरुले शान्तिपुर्ण र्याली निकाल्ने घोषणा गरेका थिए भने यता पहिचानको आन्दोलनमा रहेका समुहले र्याली रोक्ने उदघोष गरेका थिए ।

दुवै समुह बिच द्वन्द हुने संकेत देखे पछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

हिन्दूवादी संघसंगठनको र्याली र पहिचानवादीहरुको भेलाले हुने भनिएपछि धरानमा मुठभेट सिर्जना हुने हो कि ? भन्ने चिन्ता सर्वत्र थियो ।

यस्तो परिस्थिति सिर्जना हुन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको कारणनै दुर्घटना टरेको छ । सामाजिक संजालहरुमा चर्चा चले जस्तो धरानको अवश्था भएन् ।

निषेधाज्ञा जारी गरेकाले धरानमा अप्रिय घटना नभएको स्थानीय बताउँछन् । 

धरानका पाचैं वटा नाकाबाट र्याली प्रवेश गर्न नदिए पछि संभावित दुर्घटना टरेको छ ।

धरान बाहिरबाट विभिन्न हिन्दु धर्म सम्बन्धी संस्थाहरुले र्याली प्रदर्शन गर्ने भएका थिए ।

उनीहरुलाई नाकाहरुमै प्रहरीले रोकेको थियो । विशेष गरि इटहरी क्षेत्रबाट आउने र्यालीलाई पानिपियामा रोक लगाएको थियो ।

करिब ५ सयको हाराहारीमा धरान आउँदै गरेका हिन्दुवादीहरुलाई प्रवेश निषेध गरेको थियो । 

केही दिन अघि धरान १४ स्थित विजयपुरमा गोपाल मन्दीर अघि चर्च बने पछि हिन्दुवादीहरु आक्रोशित बनेका थिए ।

लगत्तै पहिचानवादीहरुले गोरुको मासु खाएको भिडियो तथा फोटो सार्वजनिक भए पछि घटनाले उग्ररुप लिएको थियो ।

गौहत्या तथा हिन्दु मन्दिरको अगाडि चर्च बनाएको विरोधमा हिन्दुवादीहरूले शनिबार प्रर्दशन गर्ने तयारी गरेका थिए । 

धरान प्रवेश गर्न नपाए पछि हिन्दु धर्मावलम्बीले इटहरीमा धरानका मेयर हर्क साम्पाङ विरुद्ध नाराबाजी गरेका छन् ।

क्रीस्चियन धर्मको प्रचारमा लागेको भन्दै मेयर साम्पाङको विरुद्ध मुर्दावादको नारा लगाएका हुन् ।

धरानमा गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दु धर्मावलम्बीले विरोध जनाएका छन् ।

उनीहरूले राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका छन् । धरानका मेयरको कारण धार्मिक सहिष्णुता भड्किएको धर्म गुरुहरूको आरोप छ ।

निषेधाज्ञाले जनजीवन प्रभावित

शनिबार धरानमा घोषणा गरिएको निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ ।

शान्तिपुर्ण र्याली भनिए पनि धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी जारी निषेधाज्ञा जारी गरेको हो । 

निषेधाज्ञाका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुमा कडाई गरेको छ ।

अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ ।

निषेधाज्ञाकै कारण सधै व्यस्त रहने धरानको भानुचौक सुनसान बनेको थियो । 

कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा सुनसान बनेको थियो ।

बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका थिए । कोशी पहाडी क्षेत्रबाट आउने मुख्यद्वार धरान १३, वेसक्याम्प, धरान इटहरी छिर्ने नाका धरान ८ तीनकुने चेकपोष्ट तथा सेउती पुलमा सुरक्षा गस्ती खटिए थिए । 

कुनै अप्रिय घट्ना घटन नदिनका लागि सुरक्षाकर्मी तैनाथ बनाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।

धरान २ बालगोपाल अगाडि विना स्वीकृत बनाइएको चर्चा र धरान ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु काटेर खाएको घट्नाले उग्र रुप लिएपछि हिन्दु सनातन धर्मालम्बीहरुले धरानमा शनिवार ‘गोरक्षा शान्ति ¥याली’को आयोजना गर्ने कार्यक्रम तय गरेका थिए ।

समग्र वैदिक सनातन समुदाय, श्रीवैष्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, हिन्दु जागरण नेपाल, वैदिक कर्मकाण्ड परिषद्, विश्व हिन्दु महासैघ, शिवसेना नेपाललगायत संघ–संस्थाले ‘स्वधर्म गोरक्षा शान्ति ¥याली’ आयोजना गर्ने तयारी गरेका थिए । हिँसा भड्किने सक्ने भन्दै धरानेहरुले सदियौदेखिको सद्भाव कायम राख्न र भड्किन नहुने सन्देश प्रवाह गर्दै शुक्रबार धरानमा सद्भाव ¥यालीको आयोजना गरेका थिए ।