विराटनगर/  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् । 

विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले धार्मिक सद्भाव लडखडाइरहेको अवस्थामा प्रधानमन्त्री दाहालले थप द्वन्द्व निम्ताउने प्रयास गरेको आरोप लगाएका हुन् ।

“अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ ।

परिस्थिति धार्मिक खासियत लडखडाएको छ,” प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने,

“आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीजस्तो व्यक्तिले माओवादीले बहुमत ल्याए जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्ने भन्नुभएको छ । उहाँले जातीय द्वन्द्व बढाउने काम गरिरहनु भएको छ ।” 

उनले पछिल्लो समय सुनसरीको धरानमा भएको घटनाले मुलुकमा असर गर्ने बताए ।

“मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएपछि संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिँदैन,”

उनले भने, “संविधानमा लेखिएका कुरा बाहिर कदापी स्वीकार्य हुँदैन । कुनै पनि प्रकारको सद्भाव खलबल्याउने कार्य कहिंकतैबाट हुनुहुँदैन ।”

कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको बताएका छन् । सद्भाव बिग्रिने अवस्था बनेको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको बताए ।

उनले मुलुकको राजनीति कता मोडिएको भन्दा पनि अफ्ठ्यारो परिस्थितिमा गएकोमा चिन्तित भएको बताए ।

त्यसैगरी कोइरालाले मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको पनि बताए । “यहाँ देखिएको सुन तस्करीले विश्वलाई केन्द्रित गराएको छ ।

सुनकाण्डमा भारत र चीन देखिएका छन् । तर अरू मुलुकले समेत चलखेल गर्दै आएका छन्,” उनले भने, “सुन तस्करी काण्डमा सरकारले उच्चण्स्तरीय छानबिन समितिबाट छानबिन गर्नुपर्छ । सुनकाण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्छ ।

यस्तै काण्डहरुले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि गिर्दै गएको छ ।”

सञ्चारकर्मी नै कठिन अवस्थामा पुगेको उनको बताए । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनुपर्ने कोइरालाले बताए । विज्ञापन अभावका कारण देशभरका मिडिया संकटमा रहेको उनको भनाइ छ । 

कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरेले देश अत्यन्तै कठिन मोडतर्फ अगाडि बढेको भन्दै चिन्ता व्यक्त गरे ।

सरकार र नेतालाई खबरदारी गर्न पत्रकारहरुलाई घिमिरेको आग्रह थियो ।

कार्यक्रममा मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माथि, कांग्रेसका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित,

पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलाबल्लभ घिमिरे, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित समितिका अध्यक्ष वेदराज पौडेललाई निवर्तमान अध्यक्ष भोजराज बस्नेतले पद हस्तान्तरण गरेका थिए ।