धरान\ बीस  वर्षअघि अर्थात २०६० सालमा धरानमा एयरपोर्ट बनाउने शर्तमा धरान वडा नम्बर १७ मा खरिद गरिएको जग्गामा एयरपोर्ट नबनेपछि पीडित जग्गाधनीहरुले जग्गा फिर्ताको माग गर्र्दै धरान उपमहानगरपालिकालाई गुहारेका छन् ।

पीडित सर्वसाधारणले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई गुहारेपछि यस विषयमा पीडित र सम्बन्धित पक्षसहितको छलफल सोमबार राखेका थिए ।

तर यति कर्पोरेटका सम्बन्धित पक्ष नआएपछि पुन ः छलफल गर्ने पीडितलाई मेयर साम्पाङले आश्वासन दिएका थिए ।

शाही कालमा अर्थात २०६० सालमा  मेयर कुमारबहादुर कार्कीको धरानको नगरप्रमुख हुदा भएको सम्झौता मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएपछि निर्वाचित भएका जनप्रतिनिधिहरुले समेत एयरपोर्ट बनाउने काममा खासै ध्यान  नदिएपछि अहिले त्यो जग्गा व्यक्तिको नाममा गएको र धमाधम प्लटिङ हुदै गएको स्थानीय जग्गाधनी उद्धब राई बताउँछन् । 

उनका अनुसार एयरपोर्टका लागि दिएको जग्गा व्यक्तिले प्लटटिङ गरेकोले किनबेचमा रोक लगाइदिन पीडित जग्गाधनीहरुले नगरप्रमुख साम्पाङलाई अनुरोध गरेका थिए । ३४ परिवारको ७ विगाहा ४ कट्टा जग्गा यतिले  खरिद गरेको राई बताउँछन् ।

अहिले यति कर्पोरेशनको नाममा ६ विगाहा १८ कट्टामात्र उल्लेख भएको र बाँकी जग्गा व्यक्तिको नाममा भएको र  अहिले धमाधम प्लटिङ हुदै गएको बताए ।

एयरपोर्ट बन्ने योजनासहित  यति कर्पोरेटसँग भएको सम्झौता भएको र अब एयरपोर्ट नबन्ने भएपछि सर्वसाधारणको जग्गा फिर्ता दिनुपर्ने तत्कालीन नगर प्रमुख कुमारबहादुर कार्की बताउँछन् ।

उनले एयरपोर्ट नबेको खण्डमा जग्गा फिर्ताको विषयमा सम्झौतापत्रमा उल्लेख भएको बताउदै जग्गा फिर्ता गर्ने सवालमा आफू जहिल्यै जहाँ पनि उपस्थित हुने बताए ।

त्यस बेला प्रति कठ्ठा २८ हजार रुपैयाँमा मात्र बिक्री गरेको जग्गाको मूल्य अहिले करोडौँमा पुगेको स्थानीयहरुले बताएका छन् ।

यस विषयमा धरान उपमहानरपालिका मेयर हर्क साम्पाङले यतिका सम्बन्धित पक्ष उपस्थिति नभएका कारण छलफल अगाडि बढ्न नसकेको बताउदै एयरपोर्टको नाममा सर्वसाधारणसँग लिएको जग्गा एयरपोर्ट नबनेपछि फिर्ता दिनुपर्ने बताए ।

नगरपालिका जग्गा फिर्ता गराउने पक्षमा रहेको मेयर साम्पाङले पीडितहरुलाई आश्वासन दिएका थिए ।